टी-२० वल्र्डकप छनोट खेलमा नेपाल ओमानसँग पराजित

148 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज /१९ कार्तिक २०८०

टी-२० वल्र्डकप छनोट प्रतियोगिताको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ। दुइटै टिमले बराबर स्कोर बनाएरपछि सुपर ओभरमा पुगेको खेल नेपाल ११ रनले पराजित भएको हो।

सुपर ओभरमा सन्दीप जोराको ओभरमा ओमानले २१ रन बनाएको थियो। २२ रनको लक्ष्य पछ्याएको नेपालले १० मात्रै बनाउन सक्यो। कुशल भुर्तेल र गुल्शन झा ओपनिङ गर्न आए पनि भुर्तेल सुरुको बलमै आउट हुँदा नेपाल दबाबमा परेको हो।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १८४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको ओमानले ९ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

ओमानका लागि कश्यप प्रजापतिले ६३ रनको योगदान दिएपछि ओमान बलियो बनेको थियो। सोअघि गुल्शन झा र कप्तान रोहित पौडेलको सान्दार ब्याटिङमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको थियो।

नेपाल र ओमान दुवै टिम आगामी जुनरजुलाईमा अमेरिका र वेस्टइण्डिजमा हुने विश्वकपका लागि छनोट भइसकेका छन्।