भूकम्प पीडितको उपचार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेका छौँ: रक्षामन्त्री खड्का

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहलगायतलाई आज आइतवार श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपमेयर सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । श्रद्धाञ्जली अर्पण कार्यक्रममा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।

उपप्रधानमन्त्री खड्काले भूकम्प पीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आजदेखि राहत वितरण शुरु गरिने जानकारी दिनुभयो ।

‘दुई दिनभित्र सबै भूकम्प पीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ’, उहाँले भन्नुभयो, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, त्यही गतिमा राहत पनि वितरण गर्छौँ ।’

उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काम शुरु हुने बताउनुभयो । उहाँले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाण्डौमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्पका कारण नलगाड नगरपालिकाकी उपमेयर  सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

नलगाड नगरपालिका– ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपमेयर सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताउनुभयो ।

उपमेयर सिंहको निधन सदरमुकाम खलङ्गामा भए पनि श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परि ज्यान गुमाएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।