उत्तरी धादिङको किन्ताङ खोलामा बेलीब्रिज बन्दै

105 पटक पढिएको

सम्पादक: Dhading News

मलेखु । धादिङको उत्तरी क्षेत्रमा पर्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको बीचमा बहने किन्ताङ खोलामा बेलीब्रिज निर्माण सुरु गरिएको हो ।

३९ दशमलव छ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उनले जानकारी दिए ।

उत्तरी धादिङलाई जिल्ला सदरमुकामसँग जोड्ने यो मुख्य मार्ग हो । यो पुलले उत्तरी धादिङको रुवीभ्याली, गङ्गाजमुना र खनियाँबास गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ । पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् ।

पुल बनेपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको गङ्गाजमुना गाउँपालिका–२ रि गाउँका राजु तामाङले बताए । ‘पुल बनेपछि हामीले कति राहत पाउँछौँ कल्पना गर्नै सक्दैनौँ । चाँडै पुल बने हामी दुर्गममा बस्नेको जीवन फेरिन्छ’, उनले भने ।

किन्ताङ फेदीमा बन्दै गरेको बेलिब्रिज नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको हो । सो अस्थायी ब्रिज नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । अहिले पुलको दायाँबायाँको जिप / पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको छ । बेलीब्रिज दुई महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको खनियाँबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले जानकारी दिए ।

उत्तरी धादिङ जोड्ने सडकको सबैभन्दा ठूलो मानिने किन्ताङ खोलामा पुल बने पनि त्यसभन्दा अगाडितिरका खोलामा पुल नहुँदा पूर्णरुपमा सहज बनिसकेको छैन । छोटो समयमै पार गर्न सकिने बाटोलाई पुल नहुँदा घण्टौँ समय लगाएर पुग्नुपर्ने बाध्यता भने कायमै छ ।

रुविभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ भने, ‘यो पुलले विटक गाउँमा आवतजावत गर्न सहजता थप्नेछ । तर त्यसभन्दा अगाडि पनि खोला / खोँच छन् । त्यो ठाउँमा पनि पक्की पुल बनाउन सकियो भने विकट बस्ती लापा, तिप्लिङ र सेर्तुङलगायतका उत्तरी धादिङका स्थानीयलाई सहज हुनेछ ।’