भूकम्प पीडितलाई राष्ट्रपति पौडेलकाे आश्वासन– ‘चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु’

78 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज मङ्गलवार जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो, ‘तपाईँहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी त्यसकाे व्यवस्था हुन्छ । चिन्ता गर्नुपर्दैन । म सरकारसँग कुरा गर्छु ।’

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।

गएकाे शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो । उहाँका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुहुनेछ ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ । भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण हिजाे सोमवार स्थगित गर्नुभएको थियो ।