प्रधानमन्त्री कोप–२८ सम्मेलनमा सहभागी हुन युएई जाने

106 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जानु हुने भएको छ ।

आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाउने भएको हो ।

यसका लागि वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी शुरु गरेको जनाएको छ ।

मन्त्रालयले बिहीबार आयोजना गरेको कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव संकलन कार्यक्रममा प्रधानमन्त्री दाहालका विकास व्यवस्थापन विज्ञ डा पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबारे जानकारी गराउनु भयो ।

नेपालले यस सम्मेलनमा पहिलो पटक आफ्नै पेभिलिएन स्थापना गर्न लागेको बताउँदै त्यसमा ३० भन्दा बढी विभिन्न क्षेत्र र विषयका कार्यपत्रसहित नेपालले गुणस्तीय र प्रमाणसहित कार्यक्रम गर्ने विज्ञ जेन्टलले अवगत गराउनु भयो ।

कार्यक्रममा वन मन्त्री डा वीरेन्द्रप्रसाद महतोले सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको बताउँदै यसपटक नेपालले उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा राख्ने जानकारी दिनुभयो ।