पार्टीको पदीय जिम्मेवारीमा नरहने मोहनबाहादुर थापाको घोषणालाई स्वीकार गर्ने रास्वपाको निर्णय

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदीय जिम्मेवारीमा नरहने केन्द्रीय सदस्य मोहनबाहादुर थापाको घोषणालाई स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले थापाको घोषणालाई स्वीकार गर्ने निर्णय भएको हो ।

थापामाथि पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठले मिडियामार्फत आफूलाई मन्त्री बनाउन ३ करोड रुपैयाँ मागेको आरोप लगाउनुभएको थियो । श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी उहाँले काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराएको रास्वपाले बैठकको निर्णयमा उल्लेख गरेको छ । सभापति रविका विश्वास पात्रको रुपमा चिनिएका थापा अमेरिका बस्दा रुम पार्टनर थिए ।

‘केन्द्रीय सदस्य मोहनबहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी मोहन बहादुर थापाले काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनुभएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ’, निर्णयको ७ बुँदामा उल्लेख छ ।

यसअघि आर्थिक अपचलनको गम्भीर आरोप लागेपछि रास्वपाले थापामाथि अनुसन्धान अगाडि बढाएको थियो । तर आरोप पुष्टि हुने कुनै प्रमाण फेला नपरेको भन्दै पार्टी अनुशासन आयोगले मुद्दा मुल्तबीमा राखेको थियो ।