थांक्रे गाउँपालिकाको कार्यालय अब आफ्नै भवनमा

272 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेवबेसी ( धादिङ),
बिहीबार ३० कात्तिक २०८० । धादिङको थांक्रे गाउँपालिकाको कार्यालय अब आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ ।

स्थानीय तहको घोषणा भएदेखि महादेवबेसी बजारमा भाडाको घरबाट सञ्चालन हुंदै आईरहेको गाउँपालिकाको कार्यालय २०८० मंसिर ३ गते देखि औपचारिक रुपमा आफ्नै भवनबाट सञ्चालन हुन लागेको हो । महादेबबेसी वजारबाट ३०० मिटर दक्षिण तर्फ बनेको सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह हुने भएपछि थांक्रे गाउँपालिकाका वासिन्दाले खुसी व्यक्त गरेका छन् ।

यस अघि आफ्नै प्रशासनिक  भवन नहुँदा २/ ३ वटा  घर भाडामा लिएर पालिकाको विभिन्न सेवाहरू अलग अगल ठाउँबाट प्रवाह हुँदै आएकोमा अव सुविधा सम्पन्न  एउटै भवनमा प्रवेश गरेपछि  गाउँपालिकाबाट पाउने सेवा सुविधा सजिलो छिटो र सहज तरिकाले  नागरिकहरूले  सेवा प्राप्त  गर्न सहज हुने पालिकाका अध्यक्ष  रामकुमार आचार्यले बताउनु भयो।

६ रोपनी क्षेत्रफलमा तिन तले सुविधा सम्पन्न भवन करिब ५ करोड ६३ लाखको लागतमा  २०७७ जेष्ठमा सुरु भएको निर्माण कार्य  २०८० असारमा सम्पन्न भएको पालिकाका प्राविधिक पवन सुबेदीले जानकारी दिनुभयो ।

साविकको थांक्रे, केवलपुर, तसर्पु , भुमेस्थानका सबै भूभाग र गोगनपानी गाविसको ५, ६, ७ र ८  वडालाई समेटेर थांक्रे गाउँपालिका वनेको हो । यस गाउँपालिकामा ११ वटा वडा रहेका छन ।

 थाक्रे गाउँपालिकाको क्षेत्रफल ९६.४१ वर्ग कि.मी. रहेको छ । यसको सिमाना पूर्वमा धुनिबेशी न.पा, पश्चिममा गल्छी गा.पा, उत्तरमा गल्छी गा.पा. र नुवाकोट जिल्ला र दक्षिणमा मकवानपुर जिल्ला रहेको छ ।