धादिङका श्रोत परिचालन र हिमाल सहकारी बिच एकीकरण, मंसिर ४ बाट एकीकृत कारोबार

170 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

३ मंसिर आईतबार,२०८० ।

धादिङबेसी । धादिङ जिल्लाका दुई सहकारी संस्था एकीकरण भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा मुख्य कार्यालय रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था र हिमाल बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका हुन् । आईतबार जिल्ला सदरमुकाम धादिङबेसीमा आयोजित संयुक्त साधारण सभाबाट दुई सहकारी संस्था एकीकरण भएको घोषणा गरिएको हो ।

दुवै सहकारीको उद्देश्य एवं प्रकृति, कार्यक्षेत्र समान किसिमको रहेकोले सहकारी ऐन, नियमावली र मापदण्ड अनुसार एक–आपसमा गाभिएको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका महासचिव नवराज पाठकले बिज्ञप्ति जारी गरेर  जानकारी दिनुभएको हो ।

एकीकृत सहकारी संस्थाको नाम , विनियम, कार्य क्षेत्र र दर्ता नम्बर श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाकै कायम गरिएको छ । संचालक समितिमा मौजुदा १३ सदस्यिय संचालक समितिमा हिमाल सहकारीबाट १ जना सचिव र २ जना संचालक सदस्य कायम गरिएको छ । एकीकृत संचालन समितिको अध्यक्षमा रुद्रवहादुरर खत्री रहेका छन् । समान प्रकृतिका दुई सहकारी संस्था एकीकरण भएपछि सवल,सुदृढ,दीगो, गुणस्तरीय र सक्षम संस्था निर्माण भई सदस्यहरुको आर्थिक, सामाजिक र स्तरउन्नती गर्ने कार्यमा योगदान पुग्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सदस्यहरुलाई गुणस्तरीय र समयसापेक्ष सेवा प्रदान गर्दै दिगो र प्रभावकारी सञ्चालनको लागि सरकारले एकीकरणको प्रोत्साहन गरेकोले सोही बमोजिम गरिएको सहकारीका संचालकहरुले बताएका छन् । ।

एकीकरणपछि संस्थाको शेयर सदस्य ८ हजार ८ सय ९७ पुगेको छ भने शेयर पूँजी सात करोड १० लाख एक हजार ३ सय पुगेको छ । एकीकरण पश्चात हिमाल सहकारीमा कार्यरत ३ जना कर्मचारीलाई श्रोत परिचालन सहकारीको मानव संशाधन सम्वन्धि आन्तरिक कार्यविधि वमोजिम दरवन्दि मिलान गरिएको बिज्ञप्तिमा जनाईएकोछ ।

 सहकारीको एकीकृत कारोवार २०८० मंसिर ४ गते सोमबार बाट शुरु गरिने वताईएको छ ।