महिला हिंसाविरुद्धको १६ दिने अभियान र नेपाली समाजको अबस्था

108 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
हरेक बर्ष झै यो बर्ष पनि महिला हिंसाविरुद्धको १६ दिने अभियान भर्खरै शुरु भएको छ ।  समाजमा जागरण ल्याउने उद्धेश्यले हरेक बर्ष १६ दिनसम्म देशैभर यो अभियान मनाईने गरिएको छ । नोभेम्बर २५ लाई संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । यो वर्ष पनि अघिल्ला बर्षमा जस्तै अबको दुई हप्ता महिला माथि हुने हिंसा विरुद्ध कार्यक्रमका गतिविधि निकै हुने छन् । सरकारी तथा गैर सरकारी कार्यक्रममा सहभागी हुन कतिलाई भ्याई नभ्याई हुनेछ । सामाजिक सञ्जाल देखि पत्रपत्रिका र अनलाइन, टेलिभिजन लगायतका सञ्चारमाध्यममा १६ दिने अभियानका समाचारले निकै स्थान पाउने छन् ।

विभिन्न तथ्यांकहरु हेर्दा नेपालमा मात्र हैन विश्वमा एक तिहाइ महिला जीवनमा कुनै न कुनै समयमा हिंसाबाट पीडित छन्। त्यसैले महिला हिंसा विरुद्धको अभियान अन्य मुलकमा पनि चल्ने गरेको छ । महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस सन् १९८१ देखि नोभेम्बर २५ मा मनाउन थालिएको हो । डेनमार्कबाट शुरु भएको यो दिवस सन् १९९१ मा क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर मनाउने प्रतिबद्धता जनाएका थिए। नेपालले सन् १९९९ देखि महिला हिंसाविरुद्ध दिवस मनाउँदै आएको छ। १६ दिन सम्म मनाईने यो दिवसमा महिला हिंसा विरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेका छन् ।

महिला हिंसा विरुद्धको अभियानमा सामेल भएर र त्यसका समाचार लेख्न थालेको पनि धेरै वर्ष भईसक्यो । आज पनि महिला माथि हुने हिंसा कम भएका छैनन् बरु हिंसाका अनेक रुप बाहिर आएका छन्। अहिले महिला हिंसाका अनेक रुपको प्रस्फुटन गर्ने बलियो माध्यमका रुपमा सामाजिक संजाल देखिएको छ ।

आज पनि महिलाहरु समाजमा अनेक विषयमा यो या त्यो नाममा पीडित छन् , हिक्मत बटुलेर न्याय खोज्ने आँट गर्नेहरुका घटना मात्रै बाहिर आएका छन यस्ता अनगिन्ती घटना हामीले हाम्रै वरिपरि देखिरहेकै भएपनि धेरै घटना बाहिर आएका छैनन् । यसो हुनुमा घटना सार्वजनिक भएपछि पिडित पक्षले भोग्नु पर्ने, सामाजिक, आर्थिक तथा पारिवारिक समस्या मुख्य कारण हुन ।

बर्षमा एक पटक मनाईने १६ दिने अभियानले महिलाहिंसा विरुद्ध बोल्न खोज्नेलाई थोरै भने पनि साहस दिएको छ। अभियानको कारणले हिंसाका उजुरी बढेका छन्। पत्रपत्रिकामा छापिएका, सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारका आधारमा मात्र हिंसाका घटनाको समिक्षा मुल्यांकन गर्नु भने हुंदैन । कतिपय घटना सामाजिक सञ्जाल र मिडियालाई चाल नदिई उजागर भएका पनि हुन्छन् ।

विभिन्न माध्यमबाट बाहिर आएका तथ्यांकलाई हेर्दा हिंसा बढेको होइन। बरु हिंसाविरुद्ध उजुरी बढेको स्पष्ट हुन्छ हिंसा त हिजो पनि यस्तै थियो। आज पनि छ , हिजो हिंसा बिरुद्ध वोल्ने कमै हुन्थे अहिले पीडितहरुमा हिंसा विरुद्ध लड्ने हिम्मत भने बढेको छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको छ। तर बनेका कानुन कार्यन्वयन गर्ने निकायमा बसेकाहरु नै न्याय दिन तयार नहुँदा त्यस्ता कानुनबाट मात्र महिलाको हक अधिकारको रक्षा हुन्छ भन्ने कुरामा ढुक्क हुन भने सकिंंदैन ।

कतिपय मान्छेलाई लाग्न सक्छ महिला माथि हिंसा शहरमा भन्दा गाउँमा धेरै हुने गर्दछ । हामी हिंसा भन्ने बित्तिकै गाउँ सम्झन्छौँ। गरिबी, अभावलाई मात्र सम्झन्छौँ। तर पछिल्ला दिनमा घरेलु हिंसा प्रायजसो गाउँबस्तीमा भन्दा शहर वजारमा धेरै हुने गरेका छन् । अशिक्षित नागरिकभन्दा बढी शिक्षित व्यक्तिबाटै हिंसाका घटना भएको विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ । शहरीया रहन सहन, सामाजिक सञ्चाल तथा सूचना सञ्चार प्रविधिको अत्याधिक प्रयोग, देखासिकी जिवन शैली, अस्वस्थ्य जिवन यापन जस्ता कारणले महिला हिंसाका घटना बढिरहेका छन् । शिक्षा र आर्थिक रुपमा सक्षम हुनु मात्र समस्याको समाधान होइन भन्ने तथ्य बलियो भएको छ । हिंसा गर्नेलाई दण्ड सजायँ संगै सचेतना दिनु पनि जरुरी छ ।

सामान्यतया दाइजो, मादक पदार्थ, जुवातास, बालविवाह, बहुविवाह, यौन सम्वन्ध आदि नै महिला घरेलु हिंसाका प्रमुख कारक तत्व हुन भन्ने ठानिन्छ । घरेलु हिंसा राज्यको शैक्षिक, आर्थिक, राजनीतिक, कानुनी पाटोको त्रुटिका कारण पनि बढिरहेका छन् भन्ने कुरालाई भुल्नु हुंदैन ।

सार्वजनिक भएका धेरै घटनामा महिला नै हिंसामा परेका छन् । कतिपय अबस्थामा भने महिलाले गरेको कमजोरी, गल्तीले समस्या निम्त्याएर घरेलुं हिंसाले उग्ररुप लिएको पनि छ । जे होस पुरुषहरु नै हिंसामा बढी संलग्न हुने गरेको तथ्यांक भने भुल्नु हुंदैन ।

महिला हिंसाका विरुद्धका अभियानमा पुरुषहरु पनि सकृय सहभागी छन् । महिला संगै अभियानमा निस्कएका छन्।, जस्ल गर्दा महिला माथि हुने हिंसा अब महिलाको मात्र विषय होइन भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ ।

केही बर्ष यता महिला हिंसा विरुद्धको कार्यक्रममा पुरुषहरुको उपस्थिती निकै बढ्दै गएको छ । विभिन्न कार्यक्रमहरु भएका छन्। जसले अब हिंसाको विरुद्ध अभियानमा पुरुषको आवाज मात्र हैन पूरुषहरुलाई प्रशिक्षण र सचेतनात्मक कार्यकम पनि बढ्दै गएको छ । यसरी अभियान चलाउँदा महिलामाथि हुने हिंसा रोक्न सहयोग पुग्ने धेरैले विश्वास गरेका छन्।

नेपालले विभिन्न समयमा भएका महिलासँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौतामा अक्षरसः पालना गर्छु भनेर प्रतिबध्ता जनाएको छ। तर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा महिलाको सहभागिता अझै कम भएका कारण सम्झौतामा भएका कुराहरु पालना हुन सकिरहेका छैनन् । महिला र पुरुष बिच हुने सबैखाले भेदभाव हटाउन पुरुष र महिला दुवै समान भन्ने अवधारणालाई राज्यले आफ्नो नीतिमा समावेश गरी कडाइका साथ लागू गर्नुपर्छ। महिलाले समानताको सदुपयोग गर्न नसक्ने अवस्थासम्म हरेक क्षेत्रमा आरक्षणमार्फत संरक्षित गर्ने नीति राज्यले लिनुपर्ने देखिन्छ।

यति हुँदाहुँदै पनि महिला विरुद्ध केही भेदभावपूर्ण कानुन बन्नु, विद्यमान संयन्त्रको प्रयोग नहुनु, सीमित क्षेत्रमा मात्र विशेष व्यवस्था गरिनु, समानताको सिद्धान्तको अवधारणागत स्पष्टताको अभाव, विभेदित स्थितिको मूल कारण औँल्याउन नसकिएको र निर्णायक तहमा न्यून महिला सहभागिता नै नेपाली महिलाका समस्या हुन्।

महिला नै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सर्वोच्च पदमा रहँदा महिलाका पक्षमा धेरै काम हुनुपर्ने हो तर अपेक्षाअनुसार काम हुन सकेन। महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यका लागि महिलालाई सक्षम बनाउने विशेष किसिमको नीति निर्माण गरिनु आवश्यक छ। महिलालाई उचित शिक्षा र कानुनी उपचारका व्यवस्था गरिनुपर्छ। महिला साक्षरता पुरुषका तुलनामा न्यून रहेको वर्तमान परिप्रेक्ष्यमा उनीहरू सम्पत्ति लगायत अरू अधिकारबाट पनि वञ्चित रहनुपरेको छ। महिला साक्षरता र शिक्षाको दर बढाउन छोरीलाई स्कुल नपठाउने अभिभावकलाई दण्डको भागी बनाउने नीति तय गर्नुपर्छ।

महिला हिंसाको नियन्त्रण भनेको महिला हिंसा विरुद्ध पुरुषहरुको सहभागिता नै हो।  १६ दिने अभियानका नाममा प्रचारमुखी कार्यक्रम गरेर मात्रै दिवसको औचित्य पुरा हुंदैन । हरेक दिन साडी फेरेर कार्यक्रममा सहभागी हुँदैमा पनि कार्यक्रम सफल भएको मान्न सकिंदैन । हरेक बर्ष एउटै अवधारणाको कार्यक्रम उही पात्र जम्मा भएर कार्यक्रम गरेर पनि हिंसा बिरुद्धको अभियान सफल हुंदैन । यस्ता प्रवृत्तिले कहिल्यै महिला हिंसा अन्त्य हुंदैन । महिला हिंसा हटाउने प्रतिवद्धता सहित नारीपुरुष समान रुपमा प्रतिबद्ध भएर लागिपरे अबस्य पनि महिला हिंसा अन्त्य हुँदै जानेछ ।

( दुई दशक अघि देखि  धादिङ जिल्लामा रहेर निरन्तर पत्रकारिता र मानवअधिकारका क्षेत्रमा कृयाशिल अधिकारी  धादिङ न्यूज डट कमका प्रधानसम्पादक हुनुहुन्छ ।)