बालकृष्ण खाणले न्याय पाउनेमा आशावादी छु: शेरबहादुर देउवा

106 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

आज मङ्गलवार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनमा सभापति देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभयो । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरूले लगाएका थिए ।

‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईँहरूले चुनेर पठाएको प्रतिनिधि पनि हो, त्यस कारण तपाईँहरूलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो’, देउवाले भन्नुभयो, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।’ अदालतमा मुद्दा विचाराधीन रहेका कारण बोल्ने नहुने बताउँदै उहाँले तर पनि आफूलाई खाणले न्याय पाउने विश्वास लागेको बताउनुभयो ।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताउनुभयो । ‘अरूलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन’, देउवाले भन्नुभयो, ‘काठमाण्डौमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहन्छु ।’