तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

152 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा ३४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । अरु १९ जनाको रत्नहरी अस्पतालमा र पाँच जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

एक जना भने उपचारपछि डिस्चार्ज भएका छन् । धरानबाट पोखराका लागि छुटेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।