राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

79 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिष्टाचार भेट गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई जानुअघि आज बुधवार राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच भेट भएको हो ।

भेटमा राष्ट्रपतिले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

काेप–२८ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज राति १० बजे दुबई जान लाग्नुभएको हाे । कोप–२८ मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले १६ गते शनिवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । १६ गते नै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको एजेन्डा उठाउन ‘हिमालको पुकार : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने शीर्षकमा कार्यक्रम आयोजना गर्नु हुनेछ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले अन्य भेटवार्ताहरू पनि गर्नुहुने छ ।