भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ: गृहमन्त्री श्रेष्ठ

94 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बिहीवारको बैठकमा उहाँले त्रिपालमुनि बसिरहेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताउनुभयो ।

चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्प पीडित थप समस्यामा नपरुन् भनेर नै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उहाँको भनाइ छ । सम्बन्धित जिल्लामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा अङ्गलाई आवश्यकतानुसार परिचालित गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले थप जनशक्ति आवश्यक परेको खण्डमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।

भूकम्पबाट प्रभावित नागरिकलाई सहायता पुर्‍याउन सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै उद्धार, राहत र आवास पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको स्मरण गराउनुभयो । ‘भूकम्पपछि प्रधानमन्त्री स्वयम् प्रभावित क्षेत्रमा पुगेर उद्धारको नेतृत्व गर्नुभयो’, उहाँले भन्नुभयो, ‘घाइतेको पहिचान गरी तत्काल उपचारका लागि लगिएको थियो, घाइते उपचारविहीन बन्नु परेन ।’

गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई भूकम्प जाँदा जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ गरी एक सय ५४ जनाको ज्यान गएको र तीन सय ६६ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, प्युठान, अछाम र जाजरकोटमा क्षति पुगेको थियो ।

प्राप्त तथ्याङ्कअनुसार भूकम्पबाट २६ हजार पाँच सय ५७ घर पूर्ण क्षति, ३५ हजार चार सय ५५ घर आंक्षिक क्षति भएका छन् । यस्तै १६ सरकारी कार्यालय पूर्ण र ३४ सार्वजनिक भवन आंक्षिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पको दोस्रो दिनदेखि सरकारले राहत वितरणलाई प्रभावकारी बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब अस्थायी आवास निर्माण र पुनःनिर्माणमा ध्यान केन्द्रित भएको बताउनुभयो । अस्थायी आवास निर्माण गर्न दुई किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय कार्यान्वयनमा गइसकेको उल्लेख गर्दै उहाँले प्रभावितले पहिलो किस्तास्वरूप २५ हजार पाउने र आवास निर्माण थालेपछि थप २५ हजार रुपैयाँ उपलब्ध गराइने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न मात्रै पाँच अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने अनुमान गरिएको बताउनुभयो । ‘प्रभावित क्षेत्रमा निजी आवास तथा सरकारी संरचनाको पुनःनिर्माण गर्न ठूलो रकम खर्च हुने अनुमान गरिएको छ’, उहाँले भन्नुभयो, ‘पुनःनिर्माणका लागि दातृ राष्ट्रसँग छलफल भइरहेको छ ।’ भूकम्प प्रभावित क्षेत्रका नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न अन्तरमन्त्रालय समन्वय भइरहेको जानकारी दिँदै उहाँले प्रदेश सरकारसँग पनि आवश्यक समन्वय भइरहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले भूकम्पबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा सरकारको सक्रियताप्रति धन्यवाद दिँदै अस्थायी आवास निर्माण र आवास पुनःनिर्माणमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । सांसदरहरूले त्रिपालमुनि बसेका कतिपय भूकम्प पीडितको चिसोका कारण ज्यान गएको, एकल महिलाका लागि अस्थायी आवास निर्माणमा सहयोग गर्न तथा भूकम्प प्रभावितको स्वास्थ्यवस्थाबारे ध्यान दिन सरकारसँग आग्रह गरेका थिए ।