पुनःनिर्माणलाई जनताको सेवा ठानेर काम गर्न स्वयंसेवकलाई सञ्चारमन्त्रीको आग्रह

161 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिम र जाजरकोट जिल्लाका संरचनाको पुनःनिर्माणलाई जनताको सेवा ठानेर इमानदारीका साथ काम गर्न स्वयंसेवकहरूलाई आग्रह गर्नुभएको छ ।

सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्पप्रभावित परिवारका निम्ति अस्थायी आवास तथा शौचालय निर्माणका लागि परिचालन भएका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार, राजनीतिक पार्टी र जनता सबैले पुनःनिर्माणलाई सेवाभावका साथ आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयो ।

भूकम्पीडितलाई त्रिपालबाट अस्थायी आवासमा यथासक्य चाँडो सार्न तथा उनीहरूको पुनःस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री शर्माले पुनःनिर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने सरकारको निर्णय साकार पार्न सम्बद्ध सबैको सहयोग अपरिहार्य भएको स्मरण गर्नुभयो ।