गल्छी गाउँपालिकामा उपाध्यक्षको नेत्तृत्वमा तालाबन्दी, गाउँपालिकाको कामकाज प्रभावित बार्ता र सम्वादको माध्यमबाट समस्या समधान गर्न नागरिकको दवाव

270 पटक पढिएको

सम्पादक: Dhading News

गल्छी ( धादिङ)-धादिङको गल्छी गाउँपालिकामा उपाध्यक्ष भाईकाजी तिवारीको नेत्तृत्वमा  गरेको तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ ।

गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारी, वडा नम्बर ४ का वडाअध्यक्ष राजु अधिकारी वडा नम्बर ६ का वडाअध्यक्ष दिपक कार्की र वडा नम्बर ८ का वडाअध्यक्ष विशाल लुङ्गेली मगरले मंसिर १५ गते देखि गाउँपालिकाको महेशदोभान स्थित प्रशासनिक भवनमा ताला लगाएका कारण गाउँपालिकाको दैनिक कामकाज प्रभावित बन्न पुगेको हो ।

तालावन्दीमा संलग्न चारै जना नेपाली काँग्रेसबाट निर्वाचित  जनप्रतिनिधि हुन ।

एक महिना अघि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेललाई गाउँपालिकामा काम गर्न नदिएर जर्वजस्त सरुवा गराएपछि रिक्त भएको पदमा सरुवा भई आएका नेत्रमणी न्यौपाने हाजिर भए लगत्तै फिर्ता गएपछि उक्त ठाउँमा आएका नरवहादुर विकलाई हाजिर हुन नदिन नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गाउँपालिकामा तालावन्दी गरेका हुन ।

काँग्रेस निकटका जनप्रतिनिधिले ल्याउन चाहेका न्यौपाने २०७९ असोज ११ मा हाजिर भई संघ तथा प्रदेश सभाको निर्वाचन सकिए लगत्तै सरुवा भएर गएका थिए । एक बर्ष अघि सरुवा भई गएका न्यौपानेलाइ पुन : गाउँपालिकामा ल्याउनु पर्ने उपाध्यक्ष तिवारी पक्षको अडान रहेको छ ।

न्यौपाने दोश्रो पटक गाउँपालिका आएर हाजिर भए लगत्तै  फिर्ता भएपछि रिक्त हुन आएको ठाउँमा आएका नरवहादुर विकलाई हाजिर हुन नदिन उपाध्यक्षको नेत्तृत्वमा गाउँपालिकामा तालावन्दी गरिएको छ । ताला लगाउने पक्षले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई फिर्ता पठाउन अध्यक्षले दवाव दिएको आरोप लगाएका छन् ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार न्यौपाने जनप्रतिनिधिका कारण नभई पालिका भित्रै कार्यरत कर्मचारीको असहयोगका कारण गत बर्ष सरुवा भएका हुन । गत बर्ष सरुवा हुन वाध्य पार्ने कर्मचारीकै कारण न्यौपाने यो पटक पनि टिक्न नसकेका हुन ।

एक महिना अघि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलको सरुवा भएपछि एक समूहले कार्यालयको लेखा शाखामा ताला लगाएर तत्काल दिनुपर्ने भुक्तानी दिन बाट रोकेका थिए ।

गाउँको सिंहदरवार भनिएको गाउँपालिका कार्यालयमा तालावन्दी गरेर दैनिक कामकाज ठप्प पारेकोमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीको गल्छी गाउँ कमिटीले बिज्ञप्ति प्रकाशित गरि कार्यालयमा ताला लगाएर कामकाज ठप्प पारेकोमा विरोध जनाएका छन । वार्ता र सम्वादको माध्यमबाट समस्याको समाभान गर्न दुवै दलले आग्रह गरेको छ ।

कार्यालयमा तालवन्दी गरिएको बिषयमा सामाजिक सञ्जाल पनि तातेको छ । तालावन्दीको पक्षमा केही व्यक्तिले लेखेका छन भने धेरैले जिम्मेवार जनप्रतिनिधिको गैर जिम्मेवार कार्य भन्दै विरोध जनाएका छन् ।