जेलबाट छुटेर छिमेकीको घाँटी थिचेर हत्या,जिवनपुरका रामचन्द्रले छुरा रोपेर श्रीमतीको ज्यान लिए हत्यामा संलग्न चार जना पक्राउ

307 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , १८ मंसिर । हत्यामा संलग्न रहेको आरोपमा धादिङको छुट्टाछुट्टै स्थानबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । दुइ वटा फरक फरक घटनामा संलग्न रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन एक वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेकै दिन बस्यालले त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको खुलेको छ ।

हत्यामा संलग्न भएको आशंकामा मंसिर १५ गते ४० वर्षीय बस्याललाई पक्राउ गरि अनुसन्धान गर्दा निजले हत्या स्विकार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले वताउनु भयो ।

अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थामा मंसिर १४ गते राति आफ्नै घरमा सर्किनीकोे शव भेटिएको थियो । ‘सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । टोप बहादुर र सुनिलले आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जीवनपुरमा छुरा प्रहार गरी श्रीमतीको हत्या
धारिलो हतियार छुरा प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धादिङको धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षिय रामचन्द्र वयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ । धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै घरमा २० वर्षिया श्रीमती पवित्रा वयलकोटीलाई शरिरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या पछि फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताउनुभयो ।

‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटी लगायत शरिरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा भेटिएको थियो । शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिन्छ’ एसपी मिश्रले भन्नुभयो । प्रतिवादी रामचन्द्र वयलकोटी र मृतक पवित्राविच करिव ६ वर्षअघि विवाह भएको थियो ।

विवाह पश्चात रामचन्द्र वैदेशिक रोजगारीमा रहेको र त्यतिवेलैदेखि श्रीमान श्रीमती बिच मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको र सोही त्यही कारणबाट हत्या जस्तो जघन्य अपराध हुन गएको प्रहरीले बताएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद लिई थुनामा राखी अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।