गल्छीमा गाउँपालिकाको कार्यालय प्रमुख र अध्यक्षको कोठामा काँग्रेसको ताला

245 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी(धादिङ), १९ मंसिर ।धादिङको गल्छी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको बिषयलाई लिएर जनप्रतिनिधिहरुनै कार्यालयमा तालवन्दी गरेर कार्यालयको दैनिक कामकाज प्रभावित बनाउन कस्सिएर लागेका छन् । चालु आर्थिक बर्षको दोश्रो चौमासिक शुरु भईसक्दा पनि गल्छी गाउँपालिकामा योजनाका कार्यक्रम कार्यान्वयनले गति लिन सकिरहेको छैन । जनप्रतिनिधिहरुनै एक पछि अर्को बखेडा निकाल्दै विवाद गर्न व्यस्त हुंदा गाउँपालिकाको गतिविधि शुन्य जस्तै हुन पुगेको छ ।

एक सात अघि मात्रै कार्यालयमा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपाने हाजिर भए लगत्तै फिर्ता भएपछि सो पदमा नरवहादुर विक सरुवा भएर हाजिर हुन आएपछि उपाध्यक्ष भाईकाजी तिवारीको नेत्तृत्वमा गाउँपालिकामा तालाबन्दी भएको हो ।

गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारी, वडा नम्बर ४ का वडाअध्यक्ष राजु अधिकारी वडा नम्बर ६ का वडाअध्यक्ष दिपक कार्की र वडा नम्बर ८ का वडाअध्यक्ष विशाल लुङ्गेली मगरले मंसिर १५ गते देखि गाउँपालिकाको महेशदोभान स्थित प्रशासनिक भवनमा लगाएको ताला मंसिर १८ गते खुलेपनि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कक्षमा अझैपनि तालावन्दी कायम रहेको छ ।

आईतबार कार्यालयको मुल गेटको ताला खोलेर कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न दिईएपनि टोलीले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालावन्दी गरेका हुन । तालावन्दी गर्ने टोलीले कार्यालयका कर्मचारीले हाजिरी गर्ने इ हाजिरी मेशिनको केवल थुतेर फ्याँकिदिएका कारण कार्यालय पुगेका कर्मचारीले आईतबार दिनभर हाजिर गर्न समेत पाएनन् ।कार्यालय खुलेपनि प्रशासन संग सम्वन्धित कुनै काम नगर्न ताला लगाउने पक्षबाट उर्दि जारी भएकाले प्रशासन शाखाका कर्मचारी आईतबार आफ्नो कार्यकक्षमा पस्दै पसेनन् ।

प्रमुख प्रशासकीय अधिकृत सरुवाको बिषयलाई मुल मुद्धा वनाएर गाउँपालिकामा तालावन्दी गर्ने चारै जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन ।

एक महिना अघि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलको सरुवा भएपछि रिक्त भएको पदमा सरुवा भई आएका नेत्रमणी न्यौपाने हाजिर भए लगत्तै काठमाण्डौं फिर्ता गएका थिए । न्यौपानेको फिर्तापछि उक्त ठाउँमा आएका नरवहादुर विकलाई हाजिर हुन नदिन नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गाउँपालिकामा तालावन्दी गरेका हुन ।

काँग्रेस निकटका जनप्रतिनिधिले ल्याउन चाहेका न्यौपाने २०७९ असोज ११ मा हाजिर भई संघ तथा प्रदेश सभाको निर्वाचन पछि सरुवा भएर गएका थिए । एक बर्ष अघि सरुवा भई गएका न्यौपानेलाइ पुनः गाउँपालिकामा ल्याउनु पर्ने उपाध्यक्ष तिवारी पक्षको अडान रहेको छ ।

न्यौपाने दोश्रो पटक गाउँपालिका आएर हाजिर भए लगत्तै फिर्ता भएपछि रिक्त हुन आएको ठाउँमा आएका नरवहादुर विकलाई हाजिर हुन नदिन उपाध्यक्षको नेत्तृत्वमा गाउँपालिकामा तालावन्दी गरिएको हो ।

पछिल्लो समय गल्छी गाउँपालिकामा संघ र प्रदेश सरकारको आडमा प्रतिशोधका आधारमा छानीछानी कर्मचारी सरुवा गराउने काम भईरहेको कर्मचारीहरुको गुनासो छ ।

गाउँको सिंहदरवार भनिएको गाउँपालिका कार्यालयमा तालावन्दी गरेर दैनिक कामकाज ठप्प पारेकोमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीको गल्छी गाउँ कमिटीले बिज्ञप्ति प्रकाशित गरि  विरोध जनाएका छन ।