भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक: प्रचण्ड

109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज बिहीवार उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान नरोकिएको बताउनुभयो ।

‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।’ उहाँले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्‍याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।’ मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो ।

देशको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रचण्डले बताउनुभयो । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको शुरुवात गरेको उहाँको भनाइ थियो ।

‘यसअघि ससाना काम भए, अब ठूल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ’, प्रधानमन्त्रीले भन्नुभयो । योसँगै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाउनुभयो । आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उहाँको भनाइ थियो ।