मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति

114 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडक खण्डमा यो प्रगति हासिल भएको हो ।

सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । ४१ दशमलव ५ किलोमिटर खण्डमध्ये अहिलेसम्म ९ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै थप ५ किलोमिटर कालोपत्र गर्ने काम गएको बुधवारदेखि शुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्र शुरु गरिएको इन्जिनियर पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिका चोकबाट शुरु गरेर गएको असार महिनामा कालोपत्र गरिएको ठाउँ मार्कीचोकसम्म जोड्ने गरी बुधवारदेखि कालोपत्रको काम अगाडि बढेको छ ।’

यसअघि आँबुखैरेनी –१ सत्रसयबाट शुरु गरेर मार्किचोकसम्म गरी ३ दशमलव ५ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम काम अघि बढेको आयोजनाले जनाएको छ ।

उहाँका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालाबाट छिर्कनेसम्म ५ दशमलव ५ किलोमिटर र आँबुखैरेनी–१ बरादीमा ३ दशमलव ५ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उहाँले भन्नुभयो, ‘२ ठाउँमा एकतर्फीरूपमा ९ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपछि अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’

पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उहाँको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६ सय ३१ घरटहरा भत्काइने छ । त्यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा ३ ठूला र ४ वटा साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशतमात्रै सकिएको बताइएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा गाडीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।

४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका ठाउँमा ४१ मिटर चौडाइको सडक बन्नेछ । तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने जनाइएको छ ।