चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउने ओलीको भनाइ

349 पटक पढिएको

२३ मंसिर २०८०, शनिबार १५:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताउनुभएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उहाँले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताउनुभयो ।

‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पश्चिम सेती किन नबनेको भनेर सोधे, चीनलाई दिन मिल्दैन, चीनलाई दियो भने भारतले विद्युत किन्दैन भन्नुभयो’, ओलीले भन्नुभयो, ‘भारतले सबै ठाउँको बिजुली किन किन्नुपर्‍यो, हामीले यहाँ उद्योगहरु संचालन गरेर विद्युत त्यहाँ प्रयोग गरे हुन्न ?’

नेपालको आर्थिक अवस्था सुधारका लागि चीनका राष्ट्रपतिले सहयोग गर्ने प्रतिवद्धता गरेपनि अन्य पार्टीका नेताहरु भारत रिसाउँछ भन्दै सहयोग लिन डराएको उहाँले बताउनुभयो ।

नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि आफ्नो स्वतन्त्रता प्रयोग गर्न नसकेको उहाँको भनाइ छ । भारतकै कारण पोखरा र लुम्बिनीको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार डराएको उहाँले बताउनुभयो ।

चीनलाई मात्र पर्यटक लिएर आउन आग्रह गर्ने हो भने करिव दश लाख पर्यटक आफ्नै विमानमा राखेर सीधै पोखरा आउने उहाँले बताउनुभयो।