बैंकहरूले जुन सर्तमा ऋण दिएको छ त्यो सर्त पालना हुनुपर्छ: केपी ओली

111 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आज नुवाकोटमा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले बैंकहरूले साहु तथा मिटरब्याजीको जस्तो निर्मम तरिकाले नभएर विकासका लागि सहयोगी र अनुकूल संस्थाको रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले बैंकहरूले जुन सर्तमा व्यवसायीलाई ऋण दिएको हो त्यो सर्त पालना गर्न पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । उहाँले अफ्ठ्यारोमा परेका व्यवसायीलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसायको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बैंकहरूले जुन सर्तमा ऋण दिएको छ त्यो सर्त पालना हुनुपर्छ । कुनै कारणवश त्यो सर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर घट भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढ मात्रै हुने हो । त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई एकल अङ्कमा ल्याउनुपर्छ । अलिकति म्याद थप गरेर अप्ठ्यारोमा परेका उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्छ ।’

अध्यक्ष ओलीले अहिले नेपालले विकासमा फड्को मार्न चाहेको र यस्तो अवस्थामा जसले सस्तोमा पूर्वाधारहरू बनाइदिन्छु भन्छ उसैलाई बनाउन दिनुपर्नेमा जोड दिनुभयो । जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रा सामान किन्छ उसैलाई बेच्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ ।