मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ: अर्थमन्त्री महत

100 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्नुभएको छ ।
बुधबार(आज) सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्नुभएको हो  । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमशः कार्यान्वयनका क्रममा रहेको उहाँले बताउनुभएको छ ।
सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सीमित गरिएको भन्दै उनले यस अवधिमा पुँजीगत खर्च तर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिनुभएको छ । त्यस्तै यस अवधिमा भन्सार महसुल तर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करिब ७.१९ प्रतिशत, आयकर तर्फ करिब १२ प्रतिशत र  समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिनुभयो । मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको उहाँले बताउनुभएको छ  ।
त्यस्तै उहाँले विप्रेषणको आप्रवाह २०८० असोजसम्ममा ३०  प्रतिशतले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिनुभएको छ । मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको भन्दै उहाँले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको जिकिर गर्नुभयो । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः  खुकुलो बनाउँदै लगिएको उहाँले बताउनुभएको छ ।