जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा एक जनाको मृत्यु
162 पटक पढिएको
प्युठान । प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो ।
प्युठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको जीप बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आज बिहीवार बिहान ११ बजेर २० मिनेटमा लु ३ च ६८७४ नम्बरको जीपको अगाडिको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।