एमालेको संकल्प यात्रा टोली पुग्यो चिवाभञ्ज्याङमा

80 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पाँचथर- नेकपा एमालेले १९ दिन अघि बैतडीको झुलाघाट बाट मध्यपहाडी राजमार्गमा शुरु गरेको समृद्धि संकल्प यात्रा टोली पूर्वीविन्दु चिवाभञ्ज्याङमा पुगेको छ ।

संयोग नै मान्नु पर्छ नेकपा एमालले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आज अन्तिम दिन । एमालेले मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरेको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन हुँदै छ ।

देशभरि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा दिवस मनाइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराउन व्यस्त हुनुहुन्छ ।

चिवा भञ्ज्याङमा केहीबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । यात्राको क्रममा चिवाभञ्ज्याङ पुगेका अभियानका सदस्यहरू अहिले भारतसँगको नेपाली सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा बोकेर फोटो खिचिरहनुभएको छ ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, राम बहादुर थापा, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुँदै छ ।

०७५ पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै छ ।

हिजो पाँचथरको फिदिममा बास बसेको टोली आज विहान त्यहाँबाट प्रस्थान गरेर चिवाभञ्ज्याङमा पुगेको हो । टोली साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम पुग्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको थियो । यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी,डडेलधुरा,डोटी,अछाम,दैलेख,जाजरकोट,पश्चिम रुकुम,पूर्वी रुकुमको यात्रा गरेको थियो ।

यसैगरी बागलुङ,पर्वत,कास्की,लमजुङ,धादिङ,नुवाकोट हुदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक जिल्लाको यात्रा टोलीले भ्रमण गरेको थियो । यसैगरी रामेछाप,सिन्धुली,ओखलढुंगा,खोटाङ,भोजपुर,धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँचथर पुगेको थियो ।

यात्राको क्रममा मध्यपहाडी राजमार्गले नछुने चारवटा जिल्लाहरुमा एमालेको टोली पुगेको छ । जसमा गुल्मी,सुर्खेत,सल्यान र दोलखा रहेका छन् । यसरी मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ ।

यात्रा टोली भोली बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ । काठमाडौं फर्कदा अधिकांस नेताहरु भद्रपुर विमानस्थल भएर काठमाडौं फर्कने तयारीमा हुनुहुन्छ ।