उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिख

92 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिख तोकिने भएको छ । सर्वोच्च अदालतबाट पेसी तारिख सुरु गरेको चार महिनामा उच्च अदालतमा पनि तारिख तोकिने अभ्यास सुरु हुन लागेको हो ।

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिख तोक्ने प्रविधिको शुभारम्भ गर्नुभएको थियो ।

आजदेखि सबै उच्च अदालतमा पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासका लागि तयारी जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौमा पेसी तारिख ‘अटोमेसन’मा तोक्ने थालनी गर्दा नै सर्वोच्चमा पाइलट प्रोजेक्टमा सुरु भएको अभ्यास विस्तारित गर्दै लैजाने बताउनुभएको थियो । उहाँले पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासले नागरिकमा न्यायालयप्रतिको विश्वास बढेर जाने उहाँको विश्वास रहेको छ ।