एनसेलको शेयर खरिद–बिक्रीमा दूरसञ्चार प्राधिकरणको नियामकीय अधिकारमा कुनै हस्तक्षेप हुँदैन्: प्रचण्ड

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

आज मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दूरसञ्चार प्राधिकरणको नियामकीय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताउनुभएको हो । सांसदहरूले एनसेलको शेयर खरिद–बिक्रीबारेको छानबिन प्राधिकरण आफैँले गर्नसक्ने भए पनि समिति बनाइएको भन्दै समितिको काम, कारबाहीप्रति आशङ्का व्यक्त गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुनबमोजिम भएरनभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताउनु भयो । प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनसाय पनि नराखिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नियामक निकाय हुँदाहुँदै सरकारले किन छुट्टै समिति बनाउनुपर्‍यो भन्ने कुराको जवाफमा म छोटोमा भन्छु– नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानुनी व्यवस्था छ । त्यसअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद–बिक्री प्रचलित कानुनबमोजिम भएरनभएको सम्बन्धमा नियमन र कारबाही गर्ने नै छ । प्राधिकरणको अधिकार रोक्ने मनसाय राखेको पनि छैन । समितिको काम, कारबाहीबाट नियामकको नियामकीय अधिकारमा कुनै हस्तक्षेप र असर पार्दैन ।’