युवाले अब सपना पूरा गर्न विदेश जानु नपर्ने अर्थमन्त्री महतको भनाइ

75 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाले सपना पूरा गर्न विदेश जानु नपर्ने बताउनुभएको छ ।

आज शनिवार नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले आयोजना गरेको ुस्टार्टअप फेस्टु २०२३ कार्यक्रममा अर्थमन्त्री महतले युवाले हरेक सपना पूरा गर्ने अवसर नेपालमै रहेको भन्दै सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताउनुभयो । उहाँले युवालाई देशभित्रै अवसर नै अवसर रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले ठूला विकसित देशमा नयाँ ‘इनोभेसन’ भएमात्रै नेपाली युवाले अवसर पाउने बताउनुभयो । उहाँले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले युवा विदेश जाने प्रणाली विकास भएको छ । त्यसलाई रोक्न पनि आईटी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक छ । अहिले ४० प्रतिशतभन्दा बढी युवा आईटी क्षेत्रमा जोडिनुभएको छ । विदेशमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति आउँछ भने त्यस्तो अवस्थामा जान आवश्यक हुन्छ । तर कुनै छात्रवृत्ति छैन र आकर्षक विज्ञापन गरेको आधारमा युवा विदेश गइरहेका छन् । त्यसरी गएकाहरूको बेहाल छ । विदेशमा सबैका लागि सहज छैन । अहिले १२ कक्षा पढेपछि बाहिर जाने क्रम चलेको छ । युवाले नै यसलाई रोक्न अग्रसर हुनुपर्छ । नेपालमा नै धेरै अवसर छन् । नेपालमा अझै धेरै गर्न बाँकी भएको हुनाले यही नै अवसर छ । नेपालमा केही काम छैन, विदेशमा मात्रै छ भन्ने नकारात्मक प्रचार भइरहेको छ ।’