जनसरोकारका सवालमा सांसद डिपि अर्यालले सार्वजनिक सुनुवाई गर्ने

124 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धादिङ मैदीका डोलप्रसाद अर्यालले गृह जिल्ला धादिङमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । सार्वजनिक सुनुवाइ पुस १३ गते दिउँसो साढे १२ बजे जिल्ला समन्वय समितिको हलमा हुने भएको हो ।

कार्यक्रममा जिल्लास्थित सबै सरकारी निकायको प्रतिनिधित्व रहने जानकारी दिईएको छ । सार्वजनिक सुनुवाईमा सेवाग्राहीले जिल्ला भित्रको विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षालगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउनेछन् ।

साथै नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जबाफ दिने कार्यक्रम रहेको वताईएको छ ।

सांसद अर्यालका स्वकीय सचिव केशव रानाले दिएको जानकारी अनुसार सो कार्यक्रममा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग गरिने छैन ।