नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिँदै

81 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिँदै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे शुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकमा पदाधिकारीले बोल्ने कार्यसूची रहेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार अस्ति र हिजोको बैठकमा गरी मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखेका छन् ।

बैठकमा ६ मन्त्रीले आफ्ना कामको विवरण पेश गरेका थिए। प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वकर्माले बताउनुभयो ।

राष्ट्रियसभा निर्वाचनका लागि योगदान र मूल्यांकनका अधारमा उम्मेदवार छनोट गर्नुपर्ने भन्ने सैद्धान्ति निर्णय बैठकले गर्नसक्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी महासमिति बैठकको तयारी, पुस १६ गते मनाउने राष्ट्रिय मेलमिलाप दिवस लगायतका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।