संघीयता कार्यान्वयनमा गम्भीर बन्न मुख्यमन्त्रीको आग्रह

79 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्। उनीहरूले प्रदेशको अधिकार सूचीका विषय हस्तान्तरण गर्न आग्रह गरेका हुन्।

बिहीबार र शुक्रबार बागमती प्रदेशका राजधानी हेटौँडामा भेला भएर संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष निकालेका उनीहरूले शनिबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटमा सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्री सहभागी थिए।

प्रधानमन्त्रीलाई भेटेर हेटौँडा भेलाको निष्कर्ष सुनाएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिनुभयो । साथै उनीहरूले हेटौँडा भेलामा तयार पारेको सात बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

मुख्यमन्त्रीहरूको कुरा सुनेपछि प्रधानमन्त्रीले आफू संघीयताको पक्षमा रहेको बताउँदै प्रदेशका माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । ‘विधेयकहरू प्रस्तुत भइसकेकाले शीर्ष राजनीतिक तहमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउन थप पहल गर्ने उहाँले बताउनुभयो ।

प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवं राजस्व बाँडफाँड र वित्तीय हस्तान्तरण लगायत कार्यान्वयनमा संघले बेवास्ता गरिरहेको मुख्यमन्त्रीहरूको आरोप छ। त्सैका लागि दबाब दिन दुईदिने भेला गरी उनीहरू केन्द्रमा आएका हुन्।