बालकुमारी घटनाः अवरोधबारे कुनै जानकारी नदिएको मन्त्री ज्वालाको दाबी

69 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले त्याे रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको दाबी गर्नुभएकाे छ ।

आज सोमवार मन्त्री ज्वालाले गएकाे शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले त्याे क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताउनुभएको हो ।

गएकाे शुक्रवार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले त्यही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरीले बल प्रयाेग गर्दा दुई जना युवाकाे ज्यान गएको थियो ।

यही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी सडक भएर आउजाउ गरिरहेकाे र त्याे दिन पनि बैठकबाट निस्किएर मन्त्रालय जाने क्रममा त्याे घटना भएको बताउनुभयो । उहाँले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको उल्लेख गर्नुभयाे । आफूहरूलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘त्यस दिन पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । सिंहदरबारमा मन्त्रालयमा पनि एउटा बैठक थियो । पार्टीकाे बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि पार्टीकाे बैठकमा फर्किने उद्देश्यले म बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी भएन । हामी सामान्य रूपमा बाहिर निस्कियौँ ।

मन्त्री ज्वालाले घटनाप्रति दुःख पनि व्यक्त गर्नुभयो । उहाँले घटनामा आफूहरूको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरू निर्दोष हुँदाहुँदै पनि आराेप लगाइएकाे भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सुरक्षाकर्मीको कमजोरीलाई आफूहरूतिर थोपरेकाे उहाँकाे भनाइ थियाे ।