भारतीय विदेशमन्त्री जयशंकर दुई दिने नेपाल भ्रमणका लागि काठमाण्डौ आइपुगे

98 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । उहाँलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नुभयो । उहाँ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनुहुनेछ ।

त्यसअघि उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम छ । दिउँसो संयुक्त आयोगको बैठकमा सहभागी भएपछि दुई देशबीच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

त्यसपछि भारतीय विदेशमन्त्री जयशङ्करले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ भोलि भारत फर्कनुहुनेछ ।