प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता

97 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न विदेशमन्त्री जयशंकर बिहीबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय पुगेका थिए।

भेटमा उनीहरुबीच नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयबारे चर्चा भएको बुझिभएको छ। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन्। विदेशमन्त्री जयशंकर काठमाडौं ओर्लिए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्। सिंहदरबारबाट उनी परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन होटल याक एन्ड यती पुग्नेछन्। जहाँ उनको भेटवार्ता समकक्षी साउदसँग हुनेछ। त्यसपछि बस्ने आयोगको बैठकमा सहमतिमा हस्ताक्षर कार्यक्रम हुनेछ।

विदेशमन्त्री जयशंकरले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने छन्। बेलुकी ६ बजे परराष्ट्रमन्त्री साउदले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्। शुक्रबार बिहान भने पशुपतिनाथको दर्शन गरेर दूतावासको कार्यक्रममा सहभागी हुँदै दिउँसो १२ बजे उनी नयाँदिल्ली फर्कनेछन्।