एकजनाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यु

398 पटक पढिएको

२० पुष २०८०, शुक्रबार १८:४४ सम्पादक: धादिङ न्यूज

काठमाडौं – जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाको बरहथवा नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ।

नगर क्षेत्रमा दिउँसो भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि तनाव बढेका कारण कर्फ्यु लगाइएको हो।

अस्पताल निर्माणको विषयमा भएको विवादमा ढुंगामुढा भएपछि झडप भएको थियो।

आज शुक्रबार बेलुकी साढे ५ बजेदेखि भोलि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए।

उनका अनुसार बरहथवा नगरपालिकाको सीमाभित्र पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलमा कर्फ्यु लागू हुनेछ।