राष्ट्रिय सभा निर्वाचनमा एमालेले सबै सिटमा उम्मेदवारी दिने

73 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । त्यसैगरी बैठकले ६ जना नेताहरुलाई पार्टीको केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ ।

प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका ५ जना नेताहरु कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेश प्रदेशको राम अवतार यादवलाई एमालेले केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

त्यसैगरी लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय बैठकले गरेको पनि महासचिव पोखरेलले बताउनुभयो ।

त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालको भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।

त्यसैगरी एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिहरुलाई काम गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई सचेत गराएको छ ।