विदेश गएको छोरो हरायो, घरमा आमा रुखबाट लडेर मरिन
337 पटक पढिएको

धादिङ,२४ पुस । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ८ जिर्वाङ ओढारेको एक चेपाङ परिवारलाई निकै ठूलो वज्रपात परेको छ । बर्षौ देखि दुःख अभाव र कष्टसंग जिवन व्यतित गरिरहेको यो परिवारले अहिले सहनै नसक्ने पिडा भोग्नु परेको छ ।
गरिबीको मार खप्न नसकेर भारतको आन्ध्र प्रदेशको लादु भन्ने ठाउँमा रोजगारीका लागि जाँदै गरेका जिर्वाङका रमेश चेपाङ पुस १७ गते बिहान देखि हराईरहेका छन् । रेल चढ्नेक्रममा विजयवडा रेल स्टेशनबाट चेपाङ हराएका हुन । उनि हराएको खबर गाउँ सम्म आउन नभ्याउँदै यता घरमा रहेकी उनकी बृद्ध आमाले स्याउला काट्ने क्रममा रुखबाट लडेर ज्यान गुमाएकी छिन । पुस २१ गते शनिबार बिहान ९ बजे सालको स्याउला घाँस झार्ने क्रममा रुखबाट लडेकी कालिमाया चेपाङको मृत्यु भएको स्थानीय रामकुमार गोर्खालीले जानकारी दिए ।
दई छोरा मजदुरी गर्न भारत गएका कारण घरमा कालिमाया र उनकी श्रीमान मात्रै थिए । निकै गरीवी र कष्टकर जिवन विताईरहेका चेपाङ परिवारको यो खबरले धेरैलाई दुखित वनाएको छ ।