राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

98 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।

प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने निर्वाचन आयोगले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।