राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु , १७ जना घाइते

136 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपालगञ्ज २८,पुस  २०८० । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ ।

भे१ख ३९१२ नम्बरको नमस्ते यातायातको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर दाङको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको  पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । मृत्यु हुनेहरुमा एक महिला र ११ पुरुष गरी १२ जना रहेका छन् ।  १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

 सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।