माघ ६ गते बेलायत फर्किने तयारीमा रहेकी सञ्जिता जिप दुर्घटनामा अस्ताइन्

159 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सञ्जिता अधिकारी आगामी ६ माघमा बेलायत फर्किने तयारीमा थिइन्। बिहे भएको दुई वर्षसम्म उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन्।

बिदामा नेपाल आएका वेला सञ्जिता श्रीमान् जन्मेको थलोमा पुगिन्। दुर्भाग्य, त्यही श्रीमानको जन्मथलो सञ्जिताको अन्तिम बन्यो।

शनिबार बागलुङको ढोरपाटन नगरपालिका– ५ प्याङखोलामा भएको जिप दुर्घटनामा चन्द्रागिरि नगरपालिका– ५ काठमाडौंकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्। दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन्।

ढोरपाटन नगरपालिका-४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका– ५ सतुंगलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत गइन्। दीपक पहिलेदेखि नै बेलायत बस्दै आएका छन्। काठमाडौंमै बिहे भयो।

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आएका थिए। करिब सात वर्ष पहिलादेखि काठमाडौं बस्दै आएका दीपकको जन्मस्थान घुमेर मात्रै बेलायत जाने रहर सञ्जितालाई थियो।

लमजुङको पहाडघर छाडेर काठमाडौं बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुग्यो। ‘घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई,’ दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन्।

गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए। पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौं पुगेको छोरेगाँउ घुमे। सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते छन्।

सालझन्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध।१ज १९ नम्बरको जिप ढोरपाटन नगरपालिका– ५ प्याङखोला अस्तुमा दुर्घटना भयो। जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारीचालक ढोरपाटन–४ खुंगाका तिलक घर्तीको समेत ज्यान गयो।

सग्लो परिवार सवार जिप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन्। जन्मगाउँ घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकोप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए। घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई हेलिकोप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जिप रिजर्भ गरेका थिए। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए।