रुस–युक्रेन युद्धमा थप एकजनाको मृत्यु, ज्यान गुमाउने नेपालीको संख्या १२ पुग्यो

122 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो। परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर आज मंगलबार आएको माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका केन्द्रीय सचिव सुनील सुनारले जानकारी दिनुभयो ।

साजन वाइसिएल दूधपोखरी गाउँपालिकाका अध्यक्ष समेत थिए। साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए। तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए। योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ।