श्रीमती हत्याको आरोपमा धादिङ मैदीका ७० वर्षे वृद्ध २१ बर्ष पछि पक्राउ

372 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

२०८० माघ २ गते

धादिङ । श्रीमती हत्याको आरोपमा सर्वस्वसहित जन्मकैद सजायँ पाएका धादिङ मैदी छापथोकका ७० बर्षिय सूर्य प्रसाद दुवाडी घटना भएको २१ बर्ष पछि पक्राउ परेका छन् । २१ वर्षअघि श्रीमतीको हत्या गरी फरार दुवाडीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

२०५९ फागुन ८ गते धादिङको मैदी-९ मा सानुमाया दुवाडीको घाँटी कसेर हत्या भएको थियो । उनलाई विशेष सूचनाको आधारमा माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका दुवाडीलाई  कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको प्रहरीले जनाएको छ । अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय भएका सूर्यप्रसाद लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् ।

सूर्यप्रसादले हत्या गरेपछि श्रीमतीलाई झुन्ड्याएको र आत्महत्या गरे जस्तो देखाएको अनुसन्धानबाट खुलेको थियो । सानुमायाको अन्त्येष्टिपछि प्रहरीले अनुसन्धान गरी उनको हत्या भएको दाबी गरेको थियो ।यस घटनामा अनुसन्धान गर्ने क्रममा २०५८ सालमा प्रहरीले मलामीलाई समेत नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।मृत भेटिएकी सानुमायाको शवको पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको थियो । सानुमाया सूर्यकी कान्छी श्रीमती हुन ।

धादिङ जिल्ला अदालतले हत्या अभियोगमा सूर्यलाई २०६१ साल जेठ ५ गते जन्मकैदको सजाय सुनाएको थियो ।जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्ट्याएपछि सर्वोच्च अदालतले २०६७ साल माघ ३ गते जिल्लाकै फैसला सदर गरेपछि  उनी फरार भएका थिए ।

प्रहरी स्रोतका अनुसार सूर्यप्रसाद लामो समयदेखि भारतमा बस्दै आएका थिए ।