‘कमेडी च्याम्पियन सिजन ३’मा, भिड्दै धादिङका कुशल अधिकारी

1021 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

धादिङ, ४ माघ २०८० । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ छिट्टै प्रशारण  हुने भएको छ । निर्माण युनिटले दिएको जानकारी अनुसार अडिशन राउण्डको छायाङ्कन सकिएर प्रसारणको तयारी सुरु भएको छ ।

प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएकोमा ति मध्येबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएका छन् । धादिङका कुशल अधिकारी कमेडी च्याम्पियन सिजन ३ को सुपर ३० मा पुग्न सफल भएका छन् ।

कुशल डिजिटल राउण्ड, प्रि जजिङ राउण्ड, फिजिकल अडिसन हुँदै सुपर ३० मा पर्न सफलभएका हुन । फिजिकल राउण्डमा देशभरबाट १३२  जना प्रतिस्पर्धीहरु छानिएका थिए । उक्त १३२ प्रतिष्पर्धीहरुबाट सुपर ३० छनोट गरिएको हो ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ मुल घर भएका कुशल सदरमुकाम धादिङबेसीमा बस्दै आईरहेका छन् । नीलकण्ठ मावि धादिङबेसीमा कक्षा १२ मा अध्ययनरत कुशलले एक बर्ष अघि सेन्टर फ्रुट कमेडी अन टपको उपाधी जितेका थिए ।

प्रशारण हुन लागेको तेस्रो सिजनमा १३ वर्षकी बालिकादेखि जेष्ठ नागरिक सम्म प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ ।

कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओएसआरबाट शो आउन लागेको मिडिया एजेन्सी एडिले बताएको छ । मुख्य प्रायोजकमा डिशहोम फाईबरनेट, आईएमईलाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यतिकार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै केएलदुगड रहेका छन् । भोटिङ पार्टनरमा खल्ती तथा मेक अप पार्टनर दीवान युनिसेक्स् सालोन् छन् ।

सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् ।

यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौडेल रहनेछन् । शोको पहिलो सिजनमा हिमेश पन्त, दोस्रोमा भरतमणि पौडेल विजेता भएका थिए ।


One thought on “‘कमेडी च्याम्पियन सिजन ३’मा, भिड्दै धादिङका कुशल अधिकारी

Comments are closed.