प्रधानमन्त्री युगाण्डा प्रस्थान

102 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा प्रस्थान गर्नुभएको छ । आज बिहान उहाँ कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।

सम्मेलन माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पुत्री गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन्।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ भने त्यसैदिन उहाँ गणतन्त्र युगाण्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा समेत सहभागी हुनुहुनेछ ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायणप्रसाद साउद (एनपी) साउद माघ १ गते नै युगाण्डा पुगिसक्नुभएको छ । उहाँले बुधबार मन्त्रिस्तरीय बैठकमा सम्बोधन गरिसक्नु भएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । साथै असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।