वरिष्ठ गायक योगेश वैद्यको निधन

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको गएराति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति साढे १२ बजे उहाँको निधन भएको थियो ।

हिजो दिउँसो वैद्यको स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ बढी समस्या भएपछि अस्पताल लैजाने क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ । उहाँलाई भ्याली अस्पताल लगिएको थियो ।

७७ वर्षीय वैद्यलाई भर्खरै मात्र गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । उहाँ नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुनुहुन्थ्यो ।

वैद्यका नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । त्यसैगरी सपना भुलाइ सारा।।, मेरा आँशुमा नहाँसे।।, नेपाल मेरो उपहार भो।।, लगायत गितका सर्जकले ३३ वर्ष सरकारी सेवामा बिताउनु भएको थियो ।

वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उहाँका दुई छोरी र एक छोरा छन् ।