‘योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न सकिन्न’

68 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताउनुभएको छ ।

उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभएको हो ।

उपाध्यक्ष पौडेलले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाउनु भयो । उहाँले योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिरहेको बताउनु भयो ।

उहाँले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर वर्तमान र दीर्घकालिन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गर्नुभयो । योजना आयोग आगामी १६ औं योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गर्नुभयो ।