शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु

110 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ ।

शहीद शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा माघ १० गते आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै आजदेखि शहीद सप्ताह शुरु गरिएको हो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शास्त्रीको शालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।