रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु

166 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । आफूलाई लिटिल बुद्ध भनेर चिनाउने ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु भएको छ । बम्जनविरुद्ध सर्लाही प्रहरीमा किशोरीले बालयौन शोषणको जाहेरी दिएकी थिइन् ।

रौतहटबाट सिन्धुलीको डकाहा जाँदै गरेका ती किशोरीका बुवा सवार बा।५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । मङ्गलवार साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताउनुभयो ।

भिमानतर्फ जाँदै गरेको प्रदेश–२–०४–००१ ट–००१० नम्बरको ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीका बुवासँगै आएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकलाई पनि ट्याक्टरले ठक्कर दिएको छ । सो मोटरसाइकलका चालक सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।