नवौं धादिङ महोत्सव माघ १० गते बुधबार देखि गलौंदीमा शुरु

193 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, -माघ १० गते बुधबार देखि धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौंदी स्थित त्रिशूली नदी किनारमा नवौं धादिङ महोत्सव शुरु भएको छ ।  महोत्सव माघ २१ गतेसम्म संचालन हुने छ ।

महोत्सवबाट स्थानीय बजारको विकास विस्तार एवं विशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, कृषि पेसालाई व्यावसायिक रूपमा विकास गराउन सहयोग गर्ने, आधुनिक एवं नयाँ प्रविधि, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउन सहयोगी माध्यम हुने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु थपलियाले जानकारी दिनुभयो ।

महोत्सवमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण ,त्रिशूली नदीमा जलयात्रा ( ¥याफ्टिङ)आकर्षणको रुपमा रहेको आयोजकले बताएको छ ।

महोत्सव उद्घाटन कार्यक्रम शुरु हुनुअघि जिल्लाका विभिन्न जातजाती,समुदाय, धार्मिक समुदाय, सामाजिक संस्थाहरुले महोत्सव क्षेत्रमा वाजागाजा नाचगान सहित सहित झाँकी प्रदर्शन गरेका थिए ।

संघका महासचिव तिलक सिंखडाका अनुसार  महोत्सवमा पर्यटन कृषि, घरेलु उद्योग लगायत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका दुई सय ५० स्टलहरु  रहेको छ । महोत्सवमा पाँच करोड भन्दा बढीको व्यापार हुने अनुमान गरिएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार गलौंदीमा नवौं धादिङ महोत्सवको उद्घाटन गरेका हुन् ।