राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा रहेको अर्थमन्त्री महतको भनाइ

44 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताउनु भयो । उहाँले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको बताउनु भयो ।

अर्थमन्त्री डा.महतले राजश्व संरचनामा परिवर्तनका कारण लक्ष्यअनुसार उठ्न नसकेको बताउनु भयो । उहाँले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताउनु भयो । उहाँले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताउनु भयो । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४-३५ अर्ब कम भन्सार राजश्व उठेको दाबी गर्नुभयो ।

अर्थमन्त्री डा.महतले भन्नुभयो, ‘हिजो हामी गाडी आयात जुन नेपालमा हुन्छ, त्यो इन्धनमा आधारित थियो । पेट्रोल र डिजेलमा आधारित थियो । अहिले इभीको आयात इन्धनमा आधारित गाडीहरुको भन्दा डबल नै भएको छ । यो पछिल्लो समयमा र हामीले इभीलाई प्रमोट गर्ने हिसावले जुन अत्यन्त न्युन, इन्धनबेस भेकलको तुलनामा न्युन भन्सार दर राखेका छौँ । त्यसले गर्दा मात्रै अहिलेकै पछिल्लो आँकडामा ३४-३५ अर्ब कम भन्सार राजश्व उठेको छ । त्यसले गर्दा जुन हामी परम्परागत हिसावबाट जुन रावश्व वृद्धिको आँकलन गरिरहेका थियौँ, र यही इभी एडप्टेशनको पनि जुन प्रक्षेपण गरेका थियौँ । त्यो भन्दा ज्यादा आम नागरिकहरु त्यतातिर उन्मुख छन् । जसले गर्दा हाम्रो राजश्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ ।’

मन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनु भयो ।