कांग्रेसले आज स्थापना दिवस मनाउँदै

43 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदैछ । २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो । यस दिनलाई आधार मान्दै नेपाली कांग्रेसले हरेक वर्ष यो मितिमा स्थापना दिवस मनाउँदै आएको हो ।

स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालयसहित सातै प्रदेश तथा जिल्लाहरूमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । आज दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने भएको छ ।

नेपालमा राणाशासनविरुद्ध अभियान चलिरहेका बेला भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो । त्यस भेलाबाट नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो ।

भेलाले राणा शासनविरुद्ध लागेको आरोपमा जेलजीवन बिताइरहेका तत्कालीन प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सम्मान स्वरूप सभापतिमा चयन गरेको थियो भने बिपी कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो ।